अनूदित बाल कथा : मानिसले के आविष्कार गर्नसक्छ ?

~एच सि एन्डरसन~

अनुवादकः शान्तदास

एक जना युवक कवि बन्ने उद्देश्यले अध्ययन गर्दै थियो । इस्टरको चाडसम्ममा कवि बनिसक्ने उसको इच्छा थियो । त्यसपछि ऊ बिहे गरेर सुखी जीवन बिताउन चाहन्थ्यो । कविता लेख्नका लागि केही कुराको आविष्कार गर्न सक्नुपर्छ भन्ने उसलाई थाहा थियो । तर उसले केही पनि आविष्कार गर्न सकेको थिएन । आफू साह्रै पछि जन्मेँ भन्ने उसलाई लाग्थ्यो । आफू संसारमा आउनुभन्दा पहिले नै सबै कुराको आविष्कार भइसकेको छ र मानिसहरूले सबै कुराको बारेमा बोलिसकेका र लेखिसकेका छन् भन्ने ऊ ठान्थ्यो ।

उनी यस्तो सोच्थे : “हजार वर्षअघि जन्मेका मानिसहरू सुखी थिए । किनकि उनीहरूलाई केही कुराको बारेमा कविता लेखेर अमर हुन सजिलो थियो । सय वर्षअघि जन्मेका मानिस पनि भग्यमानी नै हुनुपर्छ । किनकि त्यस बेला पनि कविता लेख्नका लागि विषयवस्तुहरू बाकी हुनुपर्छ । तर, अहिले संसारमा लेख्ने कुरै सकिइसकेको छ । अब कविता लेख्ने विषय नै के छ र मसँग !”

त्यसपछि उसले अध्ययन गर्न थाल्यो । यति मेहनतले अध्ययन गर्यो कि ऊ आखिरमा बिरामी भएर थला पर्यो । उसको अवस्था साह्रै टिठलाग्दो भयो । कुनै डाक्टरले पनि उसलाई निको पार्न सकेन । सायद एउटी पाकी महिलासँग उसलाई निको पार्ने उपाय थियो । उनी बाटोको छेउमा एउटा सानो घरमा बस्थिन् । उनी साह्रै बुद्धिमती थिइन् ।

कवि बन्न इच्छुक त्यो युवक ती महिलाकहाँ गयो ।

महिला बस्ने घर सानो र सफा भए पनि हेर्दा टिठलाग्दो थियो । त्यो घरको नजिकै फूलका बोट र रुखबिरुवा केही थिएनन् । घरको ढोकैमा मौरीको घार थियो, जो निक्कै काम लाग्ने थियो । अर्को निक्कै उपयोगी कुरा त्यहाँ आलुबारी थियो । त्यसको नजिकै माटोको ढिस्कोमाथि चुत्रोको झ्याङ थियो । हिउँ पर्नुभन्दा पहिले त्यो चुत्रो निक्कै मिठो हुन्थ्यो ।

“कविताविहीन हाम्रो समयको यो यथार्थ चित्र हो,” त्यो तन्नेरीले यस्तो सोच्थ्यो । जे भए पनि एउटा विचार त हो यो । उसले ती बुद्धिमती महिलाको दैलोमा पाएको विचारको एउटा कण ।

“यो कुरा लेखिहाल !” ती महिलले भनिन् । “रोटीको टुक्रा पनि त रोटी नै हो । तिमी मकहाँ किन आयौ भन्ने मलाई थाहा छ । तिमीलाई केही कुरा आविष्कार गर्न आउँदैन । तैपनि तिमी इस्टरभन्दा पहिले कवि बन्न खोज्दैछौ ।”

“सबै कुरा लेखिइसकेका छन् । कुनै कुरा लेख्न बाकी नै छैन । हाम्रो समय पुरानो समयजस्तो हैन ।”

“त्यसो होइन,” उनले भनिन् । “उहिले बुद्धि भएका महिलाहरूलाई जलाइन्थ्यो । कविहरू भोकै मर्थे । उनीहरूको जीवन टिठलाग्दो हुन्थ्यो । अहिलेको बेला राम्रो छ । यो सबैभन्दा राम्रो समय हो । तर यसलाई हेर्ने तिम्रो तरिका ठिक छैन । तिम्रा कानहरू वर्तमान समयको स्वर सुन्नसक्ने खालको चनाखो छैन । मलाई लाग्छ तिमीले साँझको बेलामा ईश्वरको प्रार्थना पनि गर्दैनौ । भन्न, बोल्न र कविता लेख्नका लागि जत्ति पनि विषय छन्, तर यसका लागि तरिका जान्नुपर्छ । खेत, बारी र बगैँचामा फलेका अन्न र फलफूलहरूलाई तिमीले पढ्न सक्नुपर्छ । खोलाको बगेको पानी र पोखरीको शान्त जलबाट तिमीले कविता पाउनसक्छौ । तर कसरी पाउने र लिने भन्ने जान्नुपर्छ । घामको किरणलाई कसरी समात्ने भन्ने तिमीलाई थाहा हुनैपर्छ । तिमीले मेरो चस्मा लाएर हेर्ने कोशिस गर, मेरो कान सुन्न सघाउने बिगुलेयन्त्र आफ्नो कानमा लाऊ । अनि ईश्वरको महिमा गाऊ । आफ्नो बारेमा चिन्ता गर्न छाड ।”

महिलाले उसलाई आफ्नो चस्मा र कान सुन्ने बिगुल दिइन् । अनि उसलाई आलुबारीको माझमा उभ्याइन् । उनले एउटा ठूलो आलु उसको हातमा राखिदिइन् । त्यसभित्रबाट आवाज आउन थाल्यो । त्यसभित्रबाट शब्दहरूसहितको स्वर निस्कन थाल्यो । आलुले आफ्नो इतिहास सुनाउन थाल्यो । दिनदिनैको घटना दश खण्डमा सुनायो । कविको लागि दश पंक्ति नै पर्याप्त थियो ।

आलुले के गीत गायो होला ?

आलुले आफ्नै र आफ्नो परिवारको बारेमा गायो । युरोपमा आलु कसरी आइपुग्यो, सुरुमा आलुको बारेमा कस्तो भ्रम फैलियो, अनि कसरी अहिले आलु सुनको ढिक्काभन्दा मूल्यवान भयो भन्ने कुरा सुनायो ।

“हामी राजाको हुकुमबाट, राज्यसभाको निर्णयले विभिन्न नगरहरूमार्फत् वितरण गरिन्थ्यौँ । हाम्रो गुण र महत्वको बारेमा सरकारी घोषणा गरिएको थियो । तर कसैले पनि त्यसलाई पत्याएका थिएनन् । हामीलाई कसरी रोप्ने र कसरी फलाउने भन्नेसम्म पनि मानिसहरूले जानेका थिएनन् । एक जना मानिसले एउटा खाल्टो खनेर आफूसँग भएका डालोभरिको आलु त्यसैमा खन्याएको थियो । अर्कोले एउटा आलु यहाँ अर्को आलु धेरै पर राख्यो । उसले आलुको ठूलो रुख हुर्कन्छ र त्यसमा आलु फल्छ अनि रुख हल्लाएर आलु झरालिन्छ भन्ने ठानेको थियो । ती सबै आलु उम्रे, बढे, फुले अनि तिनमा रसिला फल पनि फले । तर कसैले पनि जमिनमुनि के छ भन्ने सोचेनन् । हो, हामीले धेरै दुःख झेल्यौँ । अर्थात् हाम्रो पुर्खाले धेरै दुःख पाए । फलस्वरूप अहिले हामी सबैको हाईहाई हुन पाएका छौँ ।
कस्तो कथा हो यो ! यसमा कविता लेख्ने कुरै के छ र !

“यतिले पनि पुगेन ?” ती महिलाले भनिन्, “त्यो चुत्रोको झाङतिर हेर त ।”

ती चुत्राहरूले भन्नथाले, “आलूको घरसँग हाम्रो अलिकति भए पनि नाता छ । तर ऊ हुर्केको ठाउँभन्दा केही अग्लो उत्तरतिरको देश नर्वेबाट केही मानिसहरू कुइरो र हुरीको वास्ता नगरी, पश्चिमतिर अनजान प्रदेशमा आए । उनीहरूले बरफ र हिउँ पंछाए । यहाँ उनीहरूले विरुवा, हरिया घाँसे चौर, बुट्यान र झाडीहरू भेट्टाए । उनीहरूले काला-नीला अंगुरजस्ता चुत्राका झाङहरू फेलापारे । अंगुरहरू हामीजस्तै तुसारोले पाकेका थिए । उनीहरूले अंगुरको रक्सी पारे अनि यो भूमिलाई उनीहरूले वाइनल्याण्ड अर्थात् मधुभूमि नामाकरण गरे । वास्तवमा यो चुत्रोभूमि हो ।

“यो त बडो अद्भूत रमाइलो कथा रहेछ ।” युवकले भन्यो ।

“हो त नि यो पक्कै पनि रोचक कथा हो ।” भन्दै ती महिलाले युवकलाई मौरीको घारतिर लगिन् ।

उसले मौरीको घारभित्र हेर्यो । कस्तो जीवन ! कस्तो मेहनत ! घारभित्र मौरीका चाकाका बीचबीचका गल्लीगल्लीमा मौरीहरू थिए । पूरै चाका महको कारखाना जस्तो थियो । कारखानालाई हावादार बनाएर दूषित हाबा बाहिर फाल्न मौरीहरूले निरन्तर पखेटा चलाइरहेका थिए । उनीहरू यही काममा खटिएका थिए । बाहिरबाट मौरीहरू आइरहेका थिए । उनीहरूको खुट्टामा सानासाना डालाहरू थिए । ती डाला भरिभरि फूलका धुला, केसरका कणहरू भरिएका थिए । उनीहरूले ती डालाहरू कारखानामा खन्याउँथे । फूलका ती केसरबाट मह र मैन तयार हुँदै थियो ।

मौरीहरू भित्रबाहिर गरिरहेका थिए । रानी मौरी बाहिर जान चाहन्थिन् । बाहिर गइन् भने उनीसँगै सबै मौरी बाहिर जान्थे । तर यसो गर्ने बेला भएको थिएन किनकि चाकाबाट मौरीका बच्चा र नयाँ रानी मौरी निस्कन बाकी नै थियो । तैपनि रानी बाहिर जान खोजिरहेकी थिइन् । उनलाई बाहिर जान नदिन अरु मौरीहरूले रानीको पखेटा काटिदिए । उनलाई आफ्नै ठाउँमा बस्न कर लाग्यो ।

“अब माटोको ढिस्कोमाथि उक्ल,” बुद्धिमती महिलाले भनिन् । “यहाँ आएर राजमार्गतिर हेर । त्यहाँ मानिसहरू देखिन्छन् ।”

“ओहो कस्तो भीड रहेछ !” युवकले भन्यो । “एउटा कथा नसिद्धिँदै अर्को कथा । यो त बगेको बग्यै छ ! म त अल्मल्लै परेँ । म त पछाडितिर जान्छु ।”

“हैन, सिधै अघि बढ !” महिलाले भनिन् । “सोझै मानिसहरूको भीडमा पस । उनीहरूलाई ठिकसँग हेर । उनीहरूको कुरा सुन्न कान चनाखो राख अनि उनीहरूको अनुभूतिहरू बुझ्न आफ्नो दिमागलाई खुला राख । अनि तिमीले केही कुराको अविष्कार गर्नेछौ । तर, जानुभन्दा पहिले तिमीले मलाई मेरो चस्मा र काने बिगुल फर्काउनैैपर्छ ।”

यसो भन्दै उनले आफ्ना ती दुबै सामान फर्काएर लिइन् ।

“अब मैले सानातिना कुरा पनि देख्न सक्तिन । मैले केही पनि सुन्न सक्तिन ।” युवकले भन्यो ।

“त्यसो भए तिमी इस्टरसम्ममा कवि बन्न सक्तैनौ ।” बुद्धिमती महिलाले भनिन् ।

उसले सोध्यो, “म कहिलेसम्म कवि बन्न सकुँला त ?”

“न त इस्टरसम्म, न त सप्ताहान्तसम्म नै । तिमीले कुनै पनि कुरा आविष्कार गर्न सिक्न सक्तैनौ ।”

“कविता लेखेर गुजारा गर्न मैले के गर्नु पर्छ ?”

“तिमीले पाप पखाल्ने स्रोभ दिवसको दिनसम्म पनि यो काम गर्नसक्तैनौ । तिमीले कविहरूको सिकार गर्नथाल ! उनीहरूको लेखाइलाई बिगार, सत्यानाश पार । यसरी तिमीले उनीहरूलाई मार्नसक्छौ । लाजसरम, नैतिकतालाई त्यागिदेऊ । उनीहरूमाथि हिम्मतका साथ प्रहार गर । अनि तिमीले उत्सवको भोज खान पाउने छौ । त्यही खाएर तीमी र तिम्री पत्नी बाँच्नसक्छौ ।

“कसैले केही पनि केही आविष्कार गर्नसक्तैन ।” युवक करायो । ऊ आफै कवि बन्न सकेन । यसैले उसले भेटाएजति सबै कविलाई साहसका साथ प्रहार गर्यो ।

साँच्चै, कसले के आविष्कार गर्नसक्छ भन्ने कुरा ती बुद्धिमती महिलालाई थाहा छ ।

साहित्य सग्रहालय बाट

सम्बन्धित समाचार