पत्रकार महासंघको अध्यक्ष अझै आचार्य

नेपाल पत्रकार महासंघ अहिले पनि निर्वतमान अध्यक्ष गोविन्द आचार्यको निर्देशनमा चल्न थालेपछि प्रेस युनियनभित्र ब्यापक विरोध सुरु भएको छ । युनियनतर्फबाट निर्वाचित अध्यक्ष विपुल पोखरेल धेरै जसो काठमाडौंमा नबस्ने र भएका बेला पनि आचार्यसँगै रहेर काम गरेको पाएपछि युनियन आवद्ध पत्रकारहरु रुष्ट भएका हुन् ।हालै नेपाल सरकारले उपलब्ध गराएको कोरोना विरुद्ध खोप माओवादीका ७ सयभन्दा बढी कार्यकर्तालाई पत्रकार महासंघका तर्फबाट सिफारिस गरेको पाइएपछि पत्रकारहरुले प्रश्न उठाउन थालेका हुन् । ललितपुर र अन्य खोप केन्द्रबाट माओवादी कार्यकर्तालाई समेत खोपका लागि महासंघका महासचिव रोशन पुरीले चिठी लेखेरै सिफारिस गरेका थिए ।

यो विषय छानवीन हुनुपर्ने र गैरपत्रकारलाई पत्रकारको कोटा उपलब्ध गराएकाले छिट्टै बैठक राख्न अध्यक्ष विपुलसामू अन्य पदाधिकारीले माग गरेका थिए । तर, विपुल भने स्पष्ट जवाफ नदिई बुधबार अमेरिका उडिसकेका छन् । त्यतिमात्र होइन, महासंघका पदाधिकारीलाई बनाइएका कक्ष, टेबुल कुर्सी समेतमा माओवादीले एकलौटी जस्तै गरेको छ । केन्द्रमा ६ जना सचिवहरुलाई बस्ने टेबुल, कुर्सी छैन । तर, माओवादीबाट निर्वाचित लेखासमिति संयोजक लेखनाथ न्यौपानेलाई भने महंगा सोफा, कुर्सी, टेबुलसहित बेग्लै रुमको व्यवस्था गरिएको छ ।निर्वतमान अध्यक्ष गोविन्द, महासचिव पूरीले यति धेरै दुरुपयोग गर्दा पनि अध्यक्ष पोखरेल, बरिष्ठ उपाध्यक्ष रमेश विष्ट, उपाध्यक्ष बाला अधिकारीले वेवास्ता गरेको भन्दै सचिवहरु पवन आचार्य, नारायणसुन्दर किलम्बुले आपत्ति जनाइसकेका छन् । के महासंघ पुरै माओवादीको पोल्टामा गइसकेको हो भन्दै युनियन आवद्ध पदाधिकारी र अन्य सदस्यहरु एवं पत्रकारहरुले आफू नजिक पदाधिकारीलाई घेरा हालेको एक सदस्यले जानकारी दिए ।गोविन्द आचार्य आफू अध्यक्षको कार्यकाल सक्दा पनि महासंघमा देखाएको अतिरिक्त रुचीलाई माओवादीको चालबाजी र युनियनको कमजोरीका रुपमा लिइएको छ । आफू अध्यक्ष हुँदा आचार्यले महासंघलाई भन्दा पदेन सदस्य रहेको प्रेस काउन्सिलमा बढी रुची देखाएका थिए ।

३ वर्षको कार्यकालमा उनले काउन्सिलबाट झण्डै १० लाख रुपैया बराबरको काम गरेको महासंघका उतिबेलाका पदाधिकारीले बताए । अहिले पनि उनले विपुललाई काउन्सिल भित्र घुस्याई भत्ता बुझ्न लगाउने काम सुरु गरिसकेका छन् । त्यतिमात्र होइन, वर्तमान शेरबहादुर देउवा नेतृत्वको सरकारमा सञ्चार क्षेत्रलाई आफ्नो हालीमूहाली बनाउनका लागि उनले डा.सुरेश आचार्यको सहारा लिएका छन् । उनीसहितका केही सिनियर पत्रकार देउवा वरिपरि घुमेपछि अन्य पत्रकारहरु चकित परेको सूचना प्रधानमन्त्रीकै सचिवालयमै पुगेको छ । माओवादी, एमालेको माधव नेपाल समूहसहित सामेल भएपनि सञ्चार क्षेत्रमा भने माओवादीले आफ्नो प्रभाव जमाउने र काँग्रेसलाई थांग्नामा सुताउने रणनीति लिएको छ ।प्रचण्ड निकट रहेका डा.सुरेश आचार्य र गोविन्द आचार्यको सक्रियतालाई युनियन र महासंघमा आवद्ध पत्रकारहरुले बडो संसयका रुपमा हेरेका छन् ।

वर्तमान सरकारको कांग्रेस पक्ष सञ्चार क्षेत्रमा रहेका भइरहेका नियुक्तिलाई कायमै राख्ने, चलाएर अदालतमा विवाद नपुर्याउने पक्षमा उभिएको छ । तर, माओवादी पक्ष भने सबै नियुक्तिलाई खारेज गरेर आफ्ना अनुकुलका कार्यकर्ता ल्याउन दवाव दिइरहेको छ । गोरखापत्र, नेपाल टेलिभिजन, रासस मात्र होइन, प्रेस काउन्सिल जस्तो स्वायत्त निकायमा समेत हस्तक्षेप गर्नका लागि प्रधानमन्त्री देउवालाई उक्साइरहेका छन् । देउवाले भने अहिले विवादमा आउने काम नगरौं भनेर सुरेश आचार्य र गोविन्द आचार्यसहितलाई भनी जवाफ फर्काएको सचिवालय स्रोतले जानकारी दिए ।

सम्बन्धित समाचार